Sunday, April 11www.babalkhabar.com : For your kind information
Shadow

विचार मिले फेरि पार्टी एकता हुन्छ : प्रचण्ड

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचार मिले नेकपा एकता हुने बताएका छन्।

ललितपुरको जावलाखेलमा आफ्नो समूहका शिक्षकहरूको भेलामा बोल्दै उनले एकता हुनको लागि शान्तिपूर्ण ढङ्‍गले निर्वाचनको माध्यमबाट बहुदलीय प्रतिस्पर्धा हुँदै समाजवादतिर जाने, विधि विधान मान्‍ने, जनवादी केन्द्रीयता अंगिकार गर्ने, बहुमतको निर्णय मान्‍ने र व्यक्ति संगठनको मातहतमा हुने भन्‍ने विचार मिले एकता हुने बताए।

पहिले यही विचारमा सहमत भएकै कारण एकता सम्भव भएको उनको भनाइ छ। त्यसबेला अनुहार हेरेर पार्टी एकता नभएको उनले बताए।

“विचार मिलेको हुनाले एकता भएको हो र अनुहार हेरेर भएको चाहिँ होइन,” प्रचण्डले भने, “त्यसमा विचार नमिलेको भए एकता गरूँ भनेको भए पनि एकता हुँदैनथ्यो।”

पार्टी एकताका क्रममा कम्युनिस्ट आन्दोलनलाई लोकप्रिय बनाउन र हालको परिवर्तन ल्याउन तत्कालीन एमालेले खेलेको भूमिका र उत्पीडित जाति, वर्ग, क्षेत्र र लिङ्‍गमा राजनीतिक चेतना ल्याउँदै मुलुकलाई समानुपातिक, समावेशी र सङ्‍घीय लोकतान्त्रिक गणतन्त्रात्मक बनाउन माओवादी आन्दोलन र जनयुद्धले भूमिका खेलेको भन्‍नेमा तत्कालीन दुवै पार्टी सहमत भएको उनले बताए।

जनताको बहुदलीय जनवाद र २१औं शताब्दीको नौलो जनवादलाई परिमार्जन गर्दै समाजवादसम्मको यात्रा तय गर्नेबारे सहमत भएको र पूर्ववर्ती दुवै पार्टी नभएको अवस्थामा प्रधानमन्त्रीसमेत रहेका ओलीले जनताको बहुदलीय जनवादको कुरा गरेर सहमति भंग गरेको आरोप प्रचण्डले लगाएका छन्।

उनले प्रधानमन्त्री ओलीमा ‘महाराजधिराज’ प्रवृत्ति देखिएको टिप्पणीसमेत गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!