Wednesday, May 12www.babalkhabar.com : For your kind information
Shadow

म्यान्मारमा सैनिक दमन,एक्कै दिन ८२ प्रदर्शनकारी मारिए संसार नै चकित

सुरक्षाकर्मीले प्रदर्शन दबाउन ग्रिनेड तथा राइफलको प्रयोग गरेका स्थानीय संचारमाध्यमले जनाएका छन्
यांगुन/बागो — म्यान्मारमा सैनिक शासनविरुद्ध विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले दमन गरेपछि कम्तीमा ८२ जनाको ज्यान गएको छ ।

बागोमा सहरमा शुक्रबार गरिएको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या अझै बढी रहेको अनुमान गरिएको छ । मृतकहरूको शव सेनाले लिएर गएका कारण मारिनेको संख्या यकिन हुन नसकेको अधिकारकर्मीहरूले जनाएका छन् । घटनामा दर्जनौं घाइते भएका छन् ।
प्रदर्शनका क्रममा केही हलचल भएको देख्ने बित्तिकै सुरक्षाकर्मीहरूले सीधै गोली प्रहार गरेका प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमले जनाएका छन् । ‘म्यान्मार नाउ’ अनलाइनका अनुसार सुरक्षाकर्मीले प्रदर्शन दबाउन ग्रिनेड तथा राइफलको प्रयोग गरेका थिए । तर सेना नियन्त्रित अखबारले भने प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि आक्रमण गरेपछि जवाफी कारबाही गरेको त्यस क्रममा एकजनाको मृत्यु भएको दाबी गरेको छ । उक्त घटना म्यान्मारको मुख्य सहर यांगुन नजिकैको बागो सहरमा शुक्रबार भएको हो । तर धेरै बासिन्दालाई नजिकैको गाउँमा जान बाध्य पारिएका कारण यसबारे सूचना बाहिर आउन एकदिन भन्दा लामो समय लागेको जनाइएको छ ।

अनुगमन समूह ‘एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी) ले ज्यान गुमाउनेको संख्या निकै धेरै हुन सक्ने देखिएको जनाएको छ । ‘यो नरसंहार जस्तै छ । उनीहरूले छायाँ देखे पनि गोली चलाएका छन्,’ विरोध प्रदर्शनका आयोजकहरूलाई उद्धृत गर्दै म्यान्मार नाउ अनलाईनले लेखेको छ ।

म्यान्मारमा गत फेब्रुअरी १ मा सेनाले शासनसत्ता हातमा लिएपछि प्रदर्शन चर्केको हो । त्यसयता गरिएका प्रदर्शनमा सेनाले गरेको चरम दमनका कारण ७ सय १ जनाको मृत्यु भइसकेको एएपीपीले जनाएको छ । तीमध्ये करिब ५० जना बालकालिका छन् ।

सेनाले सत्ता टिकाइरहनका लागि दिनानुदिन हिंसाको सहायता लिएको देखिएको छ । ‘एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स’ का अनुसार २ हजार ८ सयभन्दा बढी सैनिक हिरासतमा छन् ।

म्यान्मारमा नोभेम्बरमा भएको चुनावमा धाँधली भएको भन्दै सेनाले सत्ता कब्जा गरेको हो । त्यसयता म्यान्मारका मुख्य सहरहरूमा नियमित विरोध प्रदर्शनहरू हुँदै आएका छन् । सैन्य ‘कू’ सँगै देशमा एकवर्षका लागि संकटकाल घोषणा गरेको सेनाले सैनिक शासन लागू गरिसकेको छ । तर चुनावमा धाँधली भएको भन्ने सेनाको आरोप निर्वाचन आयोगले अस्वीकार गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!