Wednesday, May 12www.babalkhabar.com : For your kind information
Shadow

उपत्यकाको जारी निषेधाज्ञालाई थप कडा बनाउन अर्को यस्तो नयाँ आदेश जारी

काठमाडौँ — उपत्यकाका जारी निषेधाज्ञालाई थप कडा बनाउन आवागमन नियन्त्रणसम्बन्धी आदेश जारी गरिने भएको छ । संक्रमण तीव्र बन्दै गइरहेको र निषेधाज्ञा उल्लंघन भएको भन्दै थप कडाइ गर्न लागिएको हो ।

त्यसका लागि काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले सरकारी कर्मचारीलाई सम्बन्धित कार्यालयबाट अत्यावश्यक र अनुमति दिइएका सेवा प्रवाहका लागि सीमित सवारी पास मात्रै जारी गर्ने, बैंक तथा वित्तीय संस्थाका हकमा एउटा चारपांग्रे र एउटा दुईपांग्रे सवारी चलाउन दिइने एवं सरकारी कार्यालयमा रहेका सवारीमध्ये ५० प्रतिशत मात्रै सञ्चालनमा ल्याउने गरी अर्को आदेश जारी गर्न लागेका छन् ।
भक्तपुरका प्रजिअ प्रेमप्रसाद भट्टराईले यस विषयमा तीनवटै प्रशासनको संयुक्त छलफल भएको र छिट्टै निर्णय सार्वजनिक गरिने बताए । उनले भने, ‘अब बैंक तथा वित्तीय संस्था र तोकिएका सेवा प्रवाहका लागि सरकारी कार्यालय र आवागमनका लागि यसअघि जारी गरिएका निषेधाज्ञामा थप केही कडा प्रावधान ल्याउनेबारे छलफल भएको छ । यसलाई छिट्टै अन्तिम रुप दिइनेछ ।’

सडकमा अत्यावश्यक कामका लागि हिँड्ने पैदलयात्रीले पनि त्यसको औचित्य र प्रमाण देखाउनुपर्नेबारे पनि छलफल भएको भट्टराईले बताए ।

वैशाख १६ मा जारी गरिएको एक साता लामो निषेधाज्ञा बुधबार सकिँदैछ । त्यसको अघिल्लो दिन मंगलबार नै यी थप कडा प्रावधान समेटेर निषेधाज्ञा अवधि वैशाख मसान्तसम्म पुर्‍याउने तीनवटै प्रशासनको तयारी छ ।

सोमबार नै देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर कोरोना संक्रमण तीव्र बन्दै गएको उल्लेख गर्दै निषेधाज्ञालाई थप कडा बनाइने बताएका छन् । त्यस्तै निषेधाज्ञा उल्लंघन गर्नेमाथि अनुगमन, कारबाही र नियमन गर्न गृहमन्त्रालयलाई प्रधानमन्त्रीले निर्देशन दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!