Thursday, September 23www.babalkhabar.com : For your kind information
Shadow

ओलीको भर परेका बादललाई लग्यो झड्का

६ जेठ । नेकपा एमालेभित्रको शक्तिसंघर्षले राष्ट्रिय सभाको आज भएको उपनिर्वाचनमा स्थायी कमिटी सदस्य रामबहादुर थापा बादल पराजित भए । एमालेका आधिकारिक उम्मेदवार बादललाई सोही दलका प्रदेश सभा सदस्य र स्थानीय निकायका जनप्रतिनिधिको ठूलो संख्याले मतदान गरेनन् । उनीहरुको मत माधव नेपाल समूहका उम्मेदवार खिमलाल देवकोटालाई गयो ।

सुर्य चिन्ह लिएर चुनाव जितेका जनप्रतिनिधिमध्ये माधव नेपाल समूहकाले खिमलाल देवकोटाको कलम चिन्हमा मतदान गरे । जसका कारण बादलले पराजय भोग्नुपर्यो ।
बादलको जीत या हार एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच प्रतिष्ठाको लडाईं बनेको थियो । जसमा नेपालले बाजी मारे । उनले बादललाई पराजित गरेर ओलीलाई कडा सन्देश दिएका छन् । कुनैपनि चुनावमा अन्य दलसँग गठबन्धन गरेर ओलीनिकटस्थलाई पराजित गर्न सक्ने उनको सन्देश देखिन्छ ।

नेपालले यसअघि कर्णाली प्रदेशमा आफूपक्षीय ४ सांसदलाई फ्लोर क्रस गर्न लगाएर ओलीनिकट यामलाल कँडेललाई मुख्यमन्त्री बन्नबाट रोकिदिएका थिए । माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीको पद जोगाइदिए ।

लुम्बिनी प्रदेशमा पनि नेपालले शंकर पोखरेललाई पदबाट हटाउन भित्री गृहकार्य गरिरहेका छन् । अन्य प्रदेशहरुमा पनि उनको गृहकार्य चलिरहेको छ ।तर, आज बादलको पराजयले एमालेभित्रको शक्तिसंघर्ष अझ उत्कर्षमा पुग्ने सम्भावना बढेर गएको छ । ओलीले स्थायी कमिटी बैठकमा चेतावनीसहित बोलेको बुझिएको छ । उनले सुर्य चिन्हबाट चुनाव जितेर सुर्य चिन्हमा मतदान नगर्नेलाई कडा कारबाही गर्न सक्ने सम्मको विषय राखेको बुझिएको छ । यसले एमालेभित्र ओली र नेपालबीच टकराव झन् बढ्ने देखिएको छ ।

साभार गरिएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!