Thursday, September 23www.babalkhabar.com : For your kind information
Shadow

उपनिर्वाचनको नतिजा प्रति एमाले गम्भीर

नेकपा (एमाले)ले आज सम्पन्न बाग्मती प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा पार्टीको निर्देशन पालना नगरी आधिकारिक उम्मेदवारविरुद्ध मतदान गर्ने र पार्टी निर्णयको अवज्ञा गर्ने प्रवृत्तिलाई अत्यन्त गम्भीरताका साथ लिँदै भत्र्सना गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको बैठकमा उपनिर्वाचनका क्रममा पार्टीकै कतिपय जनप्रतिनिधिले आधिकारिक उम्मेदवार रामबहादुर थापा ‘बादल’ विरुद्ध प्रचार तथा मतदान गरेको सूचनाका आधारमा त्यस कार्यको समीक्षा गरिएको थियो ।

बैठकमा प्रधानमन्त्री ओलीले कोभिड–१९ महामारीको बढ्दो प्रकोप र यसविरुद्ध सरकारले गरिरहेका प्रयासका सम्बन्धमा बैठकलाई जानकारी गराउनुभयो र बैठकले सरकारका प्रयास सकारात्मक रहेको निष्कर्ष निकालेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । बैठकले महामारीविरुद्ध बाह्य सहयोग जुटाउन, अक्सिजन, अत्यावश्यक औषधी र स्वास्थ्य सामग्रीको कुनै कमी हुन नदिन, एकीकृत ढङ्गले कोभिडविरुद्ध लड्न आवश्यक कानूनी र संरचनाको व्यवस्था गर्न एवं जनताको जीवनरक्षाका लागि कुनै कमी रहन नदिन सुझाव दिएको छ ।

यादवप्रति श्रद्धाञ्जलि

बैठकले पार्टी केन्द्रीय सदस्य एवं पूर्व सांसद योगनारायण यादवको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जलि अर्पण गरेको छ । उहाँको निधनबाट तराई–मधेसले एकजना सक्रिय र सम्भावनायुक्त नेता गुमाएको निष्कर्षका साथ बैठकले शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ

जितपछि खिमलालले भने

राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा विजयी डा. खिमलाल देवकोटाले राजनीतिक दलको समर्थनमा स्वतन्त्र नागरिकले निर्वाचन जितेर इतिहास रचेको बताएका छन् ।

विजयी भएपछि पत्रकारलाई प्रतिक्रिया दिंदै उनले भने ‘हामीले इतिहास रचेका छौं, किनभने स्वतन्त्र नागरिकलाई मेजर पोलिटिकल पार्टीले सपोर्ट गरेर चुनावमा उठाउनु भनेको नेपालको पहिलो अनुभव होला, संसारमा पनि शयद पाइँदैन ।’

उनले यो जित आफ्नो मात्र नभई स्वतन्त्र नागरिकको जित भएको बताएका छन् । ‘यो मेरो मात्र विजय होइन, स्वतन्त्र रुपमा कलम चलाउने, बहस गर्नेहरुको पनि जित हो’ डा. देवकोटाले भने ।

वाग्मती प्रदेशमा बिहीबार भएको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा डा. देवकोटाले नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादल र नेपाल मजदूर किसान पार्टीका उम्मेदवार कृष्णबहादुर तामाङलाई पराजित गरेका हुन् ।

देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष र जनता समाजवादी पार्टीले समर्थन गरेका थिए ।

राष्ट्रियसभा विज्ञहरुको थलो हो भन्दै देवकोटाले अब त्यहाँ प्रदेश र स्थानीय तहको पक्षमा आवाज उठाउने बताए ।

‘संघीय राज्यहरुको अभ्यास हेर्ने हो भने अपर हाउस हो भनेको सब नेशनल गभर्मेन्टको आवाज बोल्ने थलो हो’ उनले भने,‘निर्वाचित जनप्रतिनिधि जसले निर्वाचित गरेको हो त्यसप्रति जवाफदेही हुने हो । विगतमा त्यो जवाफदेहिता पाएनौं, म निर्वाह गर्छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!