प्रेमको बाटोमा दुई किसिमको पाटा हुन्छन् । एउटा आध्यात्मिक प्रेम र अर्काे शारीरिक प्रेम । आध्यात्मिक प्रेम एउटा जटिल विषय हो र त्यसले तत्कालै परिणाम दिने गर्छ । परिणाम सकारात्मक होस् या नकारात्मक । तत्कालको लागि गरिएको यो निर्णय दीर्घकालसम्मको लागि समेत टाउको दुखाईको विषय बन्नसक्छ र नबन्न पनि सक्छ । प्रेम आफैंमा विभिन्न किसिमबाट हुने गर्छ । प्रेमलाई धेरै तहमा व्यक्त गर्न सकिन्छ । जब प्रेम शुद्ध रूपमा प्रकट हुन्छ । त्यहाँ एउटा मन्दिर निर्माण हुन्छ । जब प्रेम अशुद्ध रूपमा प्रकट हुन्छ भने त्यो वासना, शोषण, हिंसा ईष्र्या, बर्चश्व, कब्जा आदिले ग्रस्त हुन्छ ।

त्यो एक किसिमको कारागार हो । जहाँबाट तपाईं बाहिरिन चाहनुहुन्छ, तर हुन सक्नुहुन्न । कारागारको अर्थ त्यो हो, जुन तपाईंको व्यक्तित्वमा गहिरो भएर चारैतिर फैलिएको हुन्छ । जसले तपाईंलाई विकास गर्न मद्दत गर्दैन । तपाईंको छातीमा ढुंगा झुण्ड्याउँछ र तपाईंलाई डुबाउँछ । कारागारको अर्थ त्यही हो जहाँ तपाईं स्वतन्त्र हुन चाहनुहुन्छ तर हुन सक्नुहुन्न । यही प्रेमको दुई परिभाषाले मनको मन्दिर खोल्ने वा कारागारको द्वार ? भन्ने निर्धारण गर्छ । मन्दिरको ढोका सधैंभरी खुल्ला छ । त्यहाँ कुनै प्रतिबन्ध छैन, खुट्टा समातिँदैन । भित्र जाने स्वतन्त्रता निर्वाध रुपमा हुन्छ । तपाईं मन्दिरबाट बाहिर जान चाहनुहुन्न । तर, बाहिर जाने स्वतन्त्रता भने सधैं हुन्छ । त्यसको ठिक विपरित छ कारागार ।

यदि तपाईं कसैसँग प्रेम गर्नुहुन्छ भने त्यसलाई शुद्धीकरण गर्दै जानु आवश्यक हुन्छ । भलै कुनै प्रेम सुरुवातमा अपवित्र नै किन नहोस् । जब प्रेम गहिरो हुँदै जाँदा शुद्धीकरण बढ्दै जान्छ । प्रेमको सुरुवाती चरणमा शारीरिक आकर्षण बढी हुन्छ भने यात्राको अन्त्यसम्म पुग्दा दुई आत्माको मिलन हुनपुग्छ । प्रेमबाट नै मानिसहरुले परमात्माको दर्शन गर्न पनि सक्छ । त्यो प्रेमको मन्दिर पक्ष हो । जुन प्रेममा तपाईंहरुबीच पशुको बाहेक अरु भावको प्रतित हुँदैन । त्यो कारागार पक्ष हो । प्रेमको दुबै रुप हुनसक्छ । किनकी हामीमा दुबै गुण छ । प्रेम एउटा सिक्का हो । जसको एक भागमा प्रेमको मन्दिर छ भने अर्काे भागमा लालसाको कारागार छ । यही प्रेमको सिँढीबाट नै मानिसको जीवनको दिशा बदलिन पुग्छ ।

साधारणतया प्रेमले मानिसमा रहेको पशुवत भावलाई उतार्ने गर्छ । त्यसैकारण पनि प्रेमबाट मानिसहरु धेरै भयभीत हुने गर्छन् । मानिस जति घृणासँग डराउँछन् । त्यो भन्दा धेरै प्रेमसँग डराउने गर्छन् । शत्रु त हामीहरुसँग निकै टाढा हुन्छन् । त्यसको तुलनामा हामीहरुको साथी एकदमै नजिक हुने गर्छन् । त्यो भन्दा प्रेमी झनै नजिक हुन्छ । त्यसैले प्रेमले नै मानिसलाई भूसतहमा गिराउन सक्छ ।

प्रेमको कुनै भुल हुँदैन । केवल प्रेममा डुब्नेहरुको हो भुल हुने भनेको । एक प्रेमीले तपाईंलाई पूर्ण रूपमा नष्ट गराउन सक्छ । किनकि तपाईंले यती नजिक आउने अवसर दिनुभएको छ कि एक प्रेमीले तपाईंलाई पूर्ण रूपमा सडकमा ल्याउन सक्छ । त्यसकारण केही मानिसहरू मायामा नरकको पहिलो झलक पनि पाउँछन् । त्यसकारण मानिसहरू मायाको संसारबाट भाग्न खोज्छन् ।